एकाइ -३ पाठ -२ समालोचनात्मक चिन्तन (Class -12 Social unit -3 lesson -2 Exercise by Rajiv Ghimire)

Exercise of Class -12 Social Unit -3 lesson -2

एकाइ -३ पाठ -२ समालोचनात्मक चिन्तन

अभ्यास


तलका प्रश्नहरुको उत्तर लेख्नुहोस्

क) समालोचनात्मक चिन्तन भनेको के हो ?

उत्तर : समालोचना शब्द सम र आलोचना गरी दुई शब्दहरु मिलेर बनेको छ । कुनै विषयवस्तु वा कुराको राम्रा तथा नराम्रा पक्षहरुको निष्पक्षताका साथ मूल्याङ्कन गर्ने कार्य समालोचनात्मक चिन्तन हो ।

ख) समालोचनात्माक चिन्तनअन्तर्गतका सिपहरुमध्ये तपाईंलाई कुन सबैभन्दा महत्त्वपूर्ण लाग्छ ? एक कारण दिनुहोस् ।

उत्तर : समालोचनात्माक चिन्तन अन्तर्गतका सिपहरुमध्ये मलाई व्याख्या गर्ने सिप महत्त्वपूर्ण लाग्छ किनकी यस सिपले पत्ता लगाइएको कुरा र तर्कलाई स्पष्टसँग अरुलाई बुझाउन सक्ने क्षमतालाई व्याख्या गर्छ ।

ग) आत्मआलोचनालाई परिभाषित गर्नुहोस् ।

उत्तर : आत्मआलोचना सिपले आफ्ना सबल पक्ष र कमजोर पक्ष पहिचान गर्न तथा भविष्यमा कमजोरी सच्याई आफूलाई सबल र सफल बनाउन सहयोग गर्छ । त्यस्तै यसले व्यक्तिलाई अरुको दृष्टिकोणबाट आफ्नो व्यवहारको समीक्षा गर्न सिकाउने भएकाले आत्मसचेतानको पनि विकास गराउँछ ।

घ) आत्मआलोचना र स्वरुपान्तरणबिच के सम्बन्ध छ ? छोटकरीमा लेख्नुहोस् ।

उत्तर : आत्मआलोचना र स्वरूपान्तरण एकअर्कामा सम्बन्धित छन् । आत्मआलोचना सिपले आफ्ना सबल पक्ष र कमजोर पक्ष पहिचान गर्न तथा भविष्यमा कमजोरी सच्याई आफूलाई सबल र सफल बनाउन सहयोग गर्छ र रुपान्तरण सिपले आफूमा सुधार गर्न आवश्यक विचार, कार्य र व्यवहारमा आफैँ परिवर्तन ल्याउन सिकाउँछ ।


ङ) समालोचनात्मक चिन्तनको महत्त्वलाई पाँच बुँदामा लेख्नुहोस् ।

उत्तर : समालोचना शब्द सम र आलोचना गरी दुई शब्दहरु मिलेर बनेको छ । कुनै विषयवस्तु वा कुराको राम्रा तथा नराम्रा पक्षहरुको निष्पक्षताका साथ मूल्याङ्कन गर्ने कार्य समालोचनात्मक चिन्तन हो । समालोचनात्मक चिन्तनको महत्त्वहरु यसप्रकार छन् :


- कुनै मुद्दा वा समस्याको वास्तविक निष्कर्षमा पुग्न,
- परिस्थिति अनुकूलका विभिन्न सिद्धान्त, परिभाषा, कानुनलगायतका कुराहरु निश्चित गर्न,
- सान्दर्भिक तथ्य, प्रमाण र अनुभवहरुलाई समेटी असान्दर्भिक कुराहरु हटाउन,
- सबै सरोकारवालाहरुका चासो, लक्ष्य, उद्देश्य अपेक्षित उपलब्धिलगायतका दृष्टिकोणहरुलाई समावेश गराउन,
- सम्भाव्य सबै उपायहरुका उत्तम विकल्पको छनोट गरी व्यवहारमा अवलम्बन गर्न ।


च) समालोचनात्मक चिन्तनमा प्रयोग हुने सिपहरुको सूची बनाउनुहोस् ।


उत्तर : कुनै विषयवस्तु वा कुराको राम्रा तथा नराम्रा पक्षहरुको निष्पक्षताका साथ मूल्याङ्कन गर्ने कार्य समालोचनात्मक चिन्तन हो । समालोचनात्मक सिप एउटा जीवनोपयोगी सिप हो। यसभित्र विभिन्न सिपहरु अन्तरनिहित छन् । यी सिपको अभ्यास र प्रयोगबाट मात्र व्यक्तिले समालोचनात्मक सिपको विकास गर्न सक्छ । ती सिपहरु निम्नलिखित छन् :

- विश्लेषण सिप
- अर्थ निर्माण सिप
- निष्कर्ष अनुमान गर्ने सिप
- व्याख्या गर्ने सिप
- आत्मनियमन सिप
- खुला सोचाइ सिप
-समस्या समाधान सिप


छ) आत्मआलोचनाले व्यक्तिलाई कमजोर हैन सबल बनाउँछ। यस भनाइलाई पुष्टि गर्नुहोस् ।

उत्तर : आफ्नो सबल पक्ष र कमजोर पक्ष केलाएर आफ्नो कमजोरी महशुस गरी त्यसलाई सुधार गर्ने कार्यलाई आत्मआलोचना भनिन्छ । आत्मआलोचनाले व्यक्तिलाई कमजोर हैन सबल बनाउँछ । आत्मआलोचना सिपले आफ्ना सबल पक्ष र कमजोर पक्ष पहिचान गर्न तथा भविष्यमा कमजोरी सच्याई आफूलाई सबल र सफल बनाउन सहयोग गर्छ । त्यस्तै यसले व्यक्तिलाई अरुको दृष्टिकोणबाट आफ्नो व्यवहारको समीक्षा गर्न सिकाउने भएकाले आत्मसचेतनाको पनि विकास गराउँछ । यसले व्यक्तिलाई समस्याको जरासम्म पुग्न र त्यसको समाधान पत्ता लगाउन सक्षम बनाउँछ । त्यसैले आत्मआलोचना सिपले मानिसलाई अगाडि बढ्न सहयोग गर्छ, समस्या समाधान गर्न सहयोग गर्छ । आफ्नो कमजोरीबाटै सिकेर अगाडि बढ्न सिकाउँछ ।

अत : यी सबै कारणहरुले गर्दा यो कुरा स्पष्ट हुन्छ कि आत्मआलोचनाले व्यक्तिलाई कमजोर हैन सबल बनाउँछ ।


समाप्त


© Rajiv Ghimire. All rights reserved. Distributed by ASThemesWorld